सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ। कोभिडविरुद्धको एस्ट्राजेनेकाको खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ। जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् । खोप केन्द्रका प्रमुख झलक शर्माका अनुसार अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए । ‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने । आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए ।खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ। खोपको बिषयमा नागार्जुन नगरपालीकाको सुचना र खोप केन्द्र यस प्रकार रहेको छ ।