मेडिकल व्यवसायी एवं समाजसेवी नेता दुर्गा प्रसाईँको पहलमा अलपत्र ६ नेपालीको उद्धार भएको छ भने उहाँ कै सहजीकरणमा एक नेपालीको शव ल्याइएको छ । उद्धार गरिएका सबै नेपालीको खर्च प्रसाईँ आफैले व्यवस्थापन गर्नु भएको हो भने शवको खर्च सम्बन्धित परिवारले नै गरेको छ ।
आज एक कार्यक्रम गरी उद्धार गरिएका युवाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको छ । उद्धार गरिएका युवा नवलपरासी दुबैलिया ९ का राजभर अङ्गदले आफूले एक वर्षदेखि दुबईमा खान र बस्न नपाएर अलपत्र परेको दर्द सुनाउनु भयो । एक वर्षदेखि दुबईका सडक र पार्कमा बसेर जीवन गुजार्नु परेको उहाँले बताउनु भयो । उनले आफूलाई दलालहरूले झुक्याएर भिजिट भिसामा दुबई पुराई अलपत्र पारेको बताउनु भयो । नेपाल फर्कने आस नै मरिसकेको थियो दुर्गा प्रसाईँ जस्तो देउता भेटेको कारण नेपाल फर्कन पाए उनले भने ।
उद्धार भएका शुनिलबहादुर राना, अञ्जन सेन, देवचन्द्र गुरुङले पनि दुबईमा पाएको दुःख सुनाउनु भयो । नेपाल फर्कन पाईएला भन्ने आश नै मारिसकेको बताउँदै उनीहरूले प्रसाईँले गर्नु भएको सहयोगको मुक्तकण्ठले प्रशंसा गरे । पुनर्मिलन कार्यक्रममा बोल्नु हुँदै समाजसेवी प्रसाईँले सरकारले अलपत्र नेपालीको उद्धारमा केही गर्न नसकिरहेको बताउनु भयो । मानवीय हिसाबले आफूले बिचल्लीमा परेका नेपाली युवाहरूको उद्धारको लागि पहल गरेको उहाँले बताउनु भयो ।
उहाँले यो पटक नेपाल ल्याइएमा पाँच युवाहरूको लागि आवश्यक आर्थिक व्यवस्थापन समेत गरिदिएको भए पनि आत्महत्या गरी मृत्यु हुनुभएका झापाका भुपेन्द्रको लागि भने आवश्यक पहल मात्र गरेको बताउनु भयो । मृतक भुपेन्द्रको परिवार आर्थिक रुपमा सक्षम भए पनि केही उल्झनका कारण शव ल्याउन असमर्थ भएकोमा आफूले सहजीकरण मात्र गरिदिएको उहाँले बताउनु भयो ।
प्रसाईँले यस अघि पनि आफ्नै खर्चमा दर्जनौँ बेवारिसे शव र अलपत्र नेपालीलाई नेपाल ल्याइसक्नु भएको छ भने उहाँकै पहलमा दुबईमा दुर्घटनामा परी घाइते भई अलपत्र परेकी चेलीको समेत उद्धार गरी उपचार गरिरहनु भएको छ ।