काठमाडौं । नागार्जुन नगरपालिकाले जग्गा प्रशासन सम्बन्धिको काम नगरपालिकाबाटै प्रदान गर्न शुरु गरेको छ । सोमवार नगरपालिकाले भू सेवा केन्द्र स्थापना गरी जग्गा प्रशासन सम्बन्धि काम औपचारिक रुपमा शूरु गरेको हो । सरकारले चालु आर्थिक वर्षको नीति र कार्यक्रम ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेसँगै कंंलकी मालपोत कार्यालयले जग्गा प्रशासन र भू–सेवा सम्बन्धि काम नागार्जुन नगरपालिकालाइ हस्तान्तरण गरेको हो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरी भू–सेवा केन्द्र नगरपालिकामा स्थापना भएको घोषणा गरे । महानिर्देशक पौडेलले भू सेवा केन्द्र स्थापना गरी काम शुरु गर्ने नागार्जुन नगरपालिका पहिलो भएको बताए ।
उनले भू सेवा केन्द्र स्थापना हुनुले संघीयता कार्यान्वयन भएको बताउनुभयो । कार्यक्रममा नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले भू सेवा केन्द्र स्थापना गरी नगरपालिकाले सेवा प्रवाह गर्न थालेसँगै सङ्घीयता कार्यान्वन भइ जनताले मालपोतको काम स्थानीय स्तरबाटै पाउन थालेको बताउनुभयो । मालपोत कार्यालय स्थानीय तहमा आएसँगै सेवाग्राहीलाई भने सेवा लिन सजिलो भएको छ ।
नागार्जुन नगरपालिकाकी उप प्रमुख शुशिला अधिकारीले यो एतिहासीक दिन भएको बताउनुभयो र यसलाइ सफल बनाउन सहयोग गर्नुहुने सम्पूण सहयोगी हातहरुलाइ धन्यबाद ब्यक्त गर्नुभयो ।
नगरपालिकाको जग्गा प्रशासन शाखा प्रमुख नारायणप्रसाद तिमल्सिनाले सरकारले यस वर्ष ६० वटा मालपोत कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने योजना अनुसार नै कलंकी मालपोत कार्यालले नागार्जुन नगरपालिकामा भू सेवा केन्द्र स्थापना गरी जग्गा प्रशासन सम्बन्धि काम हस्तान्तरण गरेको बताए । नगरपालिकाले मालपोतको काम स्थानीय तहबाट गर्नका लागि क्रमिकरुपमा पूर्वाधार तयारी गरिहेको छ ।