काठमाडौको स्युचाटारमा बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा गणेश मान सिंह बागमती प्रदेश बक्सिङ प्रतियोगिता हुने भएको हो । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनिय योगदानलाई सम्झिँदै सिंहको पहलमानी र बक्सिङ खेलमा आफूलाई कुशल खेलाडीका रूपमा पनि स्थापना गरेको कुरालाई मनन गर्दै यस कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ।
काठमाण्डौको स्युचाटारमा फागुन १९ गते देखी २२ सम्म आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीले सहभागी जनाउन पाउनेछन्।महिला र पुरुष गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताहरुले नगद रु १० हजार प्राप्त गर्ने छन् भने उप विजेताले ७ हजार र तेस्रो स्थानमा आउने दुई जनाले जनही नगद रु ४ हजार प्राप्त गर्ने छन् ।वीर गणेशमान सिंह स्मृति वागमती प्रदेश स्तरीय बक्सिङ्ग प्रतियोगितामा महिला तर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलोग्राम तौल समूह र पुरुष तर्फ ४९, ५२, ५३, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलोग्राम तौल समूहका प्रतिस्पर्धा हुने छन् ।चार दिन सम्म सञ्चालन हुने प्रतियोगिता आयोजना गर्न नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने प्रतियोगिता आयोजनाका लागी कुल ३० लाख लागत लाग्ने अनुमान गरिएको छ ।
