एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा शेल्टर आश्रय नेपालले जेल फुटबल, फुटबल थ्रु रिह्याबिलिटेशन कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो। एन्फाका महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपालका अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरेका थिए। फुटबलका माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको ओलीले बताइन्। यो कार्यक्रम केन्द्रीय कारागारमा सञ्चालन गरिने जनाइएको छ।
‘हामीले खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रम ल्याइरहेका छौं र बन्दीहरूको आत्मविश्वास बढाउन मद्दत गर्दछौं। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि मद्दत गर्दछ र समाजको सुधारका लागि काम गर्ने इच्छा विकास गर्दछ, ’ ओलीले भनिन्। सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताइन् ।
यस कार्यक्रमबाट दुई चरणमा गरी ४८ जनालाई खेलाडीको र समान ३२ जनालाई रेफ्री र प्रशिक्षकको प्रशिक्षण दिने लक्ष्य छ । कार्यक्रमको पहिलो चरण जुन ५ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ, जहाँ २४ जनालाई खेलाडी र समान १६ जना रेफ्री र प्रशिक्षकको प्रशिक्षण दिइने छ ।यस्तै, कार्यक्रमको दोस्रो चरण यसै वर्षको डिसेम्बरदेखि अर्को वर्षको मे सम्म सञ्चालन हुनेछ । प्रशिक्षण पूरा गर्ने प्रशिक्षकहरुले ‘डी’ को लाइसेन्स पाउनेछन् । रेफ्रीहरुले चौथो तहको प्रमाणपत्र प्राप्त गर्दा खेलाडीहरुले प्रशिक्षण पूरा गरेपछि सहभागिताको प्रमाणपत्र पाउनेछन् ।
सेल्टर नेपालले यसअघि सडक बालबालिकाका लागि फुटबल कार्यक्रम सञ्चालन गरेको थियो ।अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र पढेकी नागार्जुन न.पा ०६,की ओली एशियन फूटबल कन्फेड्रेसनको ड्रिम एसिया अवार्डबाट सम्मानित पनि भएकी छिन् भने हाल उनी विभिन्न सरकारी,गैरसरकारी संस्थाहरुमा परामर्शदाताको रूपमा समेत कार्यरत छिन् ।