गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयाको सम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । आज एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी पाखामा निर्माण हुन लागेको १५ शैयाको रामकोट आधारभूत अस्पतालको आज शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा आजको अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उहाँले सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री त्रिपाठीले जनप्रतिनिधिले गर्ने कामले नागरिका धेरै ससाना समस्या समाधान हुने बताउनुभयो । संविधानले स्थानीय तहलाई असाधारण अधिकार प्रदान गरेकाले स्थानीय तहका जनप्रतिनिधिले सोही अनुसारको कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास गतिमा उल्लेख्य मात्रामा सुधार भएको बताउनुभयो । नगपालिकामा बाटो, खानेपानी नगर स्त्तरीय अस्पताल लगायतका भौतिक पूर्वाधारमा भएको प्रगतिले नगरपालिकाको मुहार परिवर्तन आएको बताउनुभयो ।नगर स्त्तरीय अस्पताल छिटै सम्पन्न हुने भन्दै अस्पताल निर्माण सम्पन्न भइसकेपछि नर्सिङ होमले उपलब्ध गराउने सबै सुविधा अस्पतालले उपलब्ध गराउने नगर प्रमुख बस्नेतले बताउनुयभो ।
सो अवसरमा बागमती प्रदेश सभा सदस्य केशब पोखरेल, नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी लगायतले नगरपालिकाले गरेको विकासको गति तिब्र भएको भन्दै तीनै तहको समन्वयमा विकासको गतिलाई थप अगाडि बढाउन सकिने बताउनुभयो ।