कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ। जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। अस्पतालका सूचना तथा सञ्चार अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए। नवीन्द्रराज जोशीलाइ फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।अस्पताल पुगेदेखि नै अचेत रहेका जाेशीको एक महिनाको उपचारपछि निधन भएको हाे ।