काठमान्डौ,२०७९ फाल्गुन १९,रन्जन कार्की
सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स सञ्चालनमा आएको छ । सिनेमा हलको शुक्रबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्घाटन गरे । उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलगायत उपस्थित थिए ।
उक्त अवसरमा अध्यक्ष केसीले गाउँगाउँमा फिल्म हल खोल्नु जरुरी भएको बताए । हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताउँदै उनले भने, ‘फिल्म हल कलाकारका लागि नभई फिल्मप्रेमीको लागि खुसीको कुरा भएकाले सहरमा मात्रै होइन, गाउँगाउँमा हल खोल्नुपर्छ ।’
सांसद श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकोमा सञ्चालकलाई धन्यवाद दिए । समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्ने भन्दै उनले फिल्म हल सबैको साझा सम्पति भएको र शान्ति सुरक्षा कायम राख्दै हलको संरक्षण गर्नुपर्ने बताए ।
नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ।
दुई पर्दा रहेकाे सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ। करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा हलमा ७.१ डल्बी एटमस ध्वनि प्रणाली जडान गरिएको छ।
बिहीबार हल सञ्चालनको उपलक्ष्यमा बलिउड फिल्म ‘पठान’ र नेपाली फिल्म ‘फूलबारी’ देखाइएको थियो। हलमा शुक्रबारदेखि नेपाली फिल्म ‘२.० छड्के’ र ‘छक्का पन्जा ४ रिलिज भएका छन्।