काठमाडौं, २३ असोज। उत्साह नेपालले दसैँको अवसरमा आयोजना गरेको ‘दसैँ मेला–२०८३’ आजदेखि नागार्जुन नगरपालिका–४, सितापाइलास्थित अनुपम मलमा रहेको भोजन अनलिमिटेडमा सुरु भएको छ। असोज २३ देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुने मेलामा विभिन्न स्टल, सांस्कृतिक कार्यक्रम, बिङ्गो खेल, निःशुल्क मेहन्दी तथा फेस पेन्टिङलगायतका गतिविधि भइरहेका छन्।
बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री उद्धव थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा बागमती प्रदेश सरकारको नीति तथा योजना आयोगका सदस्य डा. सुरेन्द्रबहादुरसिंह थापा, बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नागार्जुन नगर सभापति राजन कोइराला, सूचना प्रविधि विज्ञ विश्व बलामी, पर्यटन विज्ञ रामकुमार पुरी, वुमन क्रिएसन सेन्टरकी अध्यक्ष नीलु थापा, मनोवैज्ञानिक विनिता अधिकारीलगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले महिलाहरूले घरपरिवारको जिम्मेवारी पूरा गर्नुका साथै समाज र राष्ट्रको विकासमा समेत महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो। महिलाहरूको क्षमता, सीप र सक्रियतालाई प्रोत्साहन गर्दै उत्साह नेपालले अघि बढाएको अभियानको प्रशंसा गर्दै उहाँले संस्थामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरूको कामको सराहना गर्नुभयो।
त्यस्तै, उत्साह नेपालकी अध्यक्ष मन्दिरा राउतले सुरुमा तीजको अवसरमा कार्यक्रम आयोजना गर्ने योजना रहे पनि देशमा उत्पन्न विषम परिस्थितिका कारण त्यसलाई दसैँ मेलाका रूपमा आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि संस्थामा आबद्ध दिदीबहिनीहरूको मेहनत, सहयोगी हातहरू तथा शुभचिन्तकहरूको साथ र सहयोगले मेला सुरु गर्न सफल भएको उहाँले बताउनुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

मेलाको दोस्रो सत्र थप रोचक बनेको थियो। उक्त सत्रमा पर्यटन विज्ञ तथा प्राध्यापक रामकुमार पुरीले सहजीकरण गर्नुभएको प्यानल छलफलमा नागार्जुन नगरपालिका–२ का वडाध्यक्ष थुमराज केसी, वडा नं. ५ का वडाध्यक्ष महेश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजन कोइराला, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ सलिना पौडेल तथा सूचना प्रविधि विज्ञ विश्व बलामीलगायत सहभागी हुनुहुन्थ्यो। करिब डेढदेखि दुई घण्टासम्म चलेको छलफलमा समसामयिक विषय तथा विभिन्न सवालमा रोचक संवाद भएको थियो।

तीन दिनसम्म सञ्चालन हुने मेलामा आगामी दिनमा विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। त्यस्तै, भोलि आयोजना हुने ‘हिजोको दसैँ र आजको दसैँ : परम्परा, परिवर्तन र पुस्तान्तरण’ विषयक कार्यक्रममा दसैँको बदलिँदो स्वरूप, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति तथा परम्पराबारे चर्चा गरिनेछ। कार्यक्रममा बालबालिकासँगै हजुरबा–हजुरआमासमेत सहभागी हुन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
मेलाको अझै दुई दिन बाँकी रहेकाले कार्यक्रममा सहभागी भई विभिन्न परिकारको स्वाद लिन, खेल तथा सांस्कृतिक गतिविधिमा रमाउन र दसैँको खुसी साटासाट गर्न उत्साह नेपालकी अध्यक्ष मन्दिरा राउतले सबैलाई आग्रह गर्नुभएको छ।
