टौखेल हाईट बलामी गुठी समाजद्वारा नेवाः परम्परागत संस्कृति संरक्षण तथा पुस्तान्तरण अभियान अन्तर्गत नागार्जुन नगरपालिकाको सहकार्यमा मिति २०८३/०१/१३ गतेदेखि मिति २०८३/०२/२० गतेसम्म संचालन भएको एक महिने धिमे तथा बाँसुरी बाजाँ प्रशिक्षण समापन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
गुठी समाजले विगतमा पनि धिमे बाजाँ तथा बाँसुरी बाजाँ प्रशिक्षण संचालन गरी संस्कृति पुस्तान्तरणमा युवा सहभागिता बढाउदै लगेको छ । समाजले स्थानीय स्तरमा वार्षिक गुठी पुजा र स्वयम्भूमा लाग्ने गुला पर्वमा धिमे बाजाँ प्रयोग गर्दै आएको छ ।

समापन कार्यक्रममा वडा सदस्य सरिता खड्का, नेवा देय् दबू जामाच्व नगर समिति अध्यक्ष अजित पुतुवार, गुठी समाजका थकाली वीर बहादुर बलामी, अध्यक्ष भाईकाजी बलामी श्रेष्ठ, गुठी समाजका पदाधिकारी तथा सदस्य, प्रमुख प्रशिक्षक सुन्दर श्रेष्ठ, प्रशिक्षक सुनिल महर्जन र प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागीता रहेको थियोे ।
अतिथि वडा सदस्य सरिता खड्काले गुठी समाजबाट आयोजित बाजाँ प्रशिक्षण तथा संस्कृति संरक्षण प्रयास सराहनीय रहेको बताउनु हुँदै आगामी वर्ष गुठीको लागि योजना प्राथमिकतामा राख्ने बताउनुभयो ।
नेवा देय् दबू जामाच्व नगर समिति अध्यक्ष अजित पुतुवारले गुठी समाजबाट संस्कृति संरक्षणमा भए गरेको कार्यहरू सराहनीय रहेको बताउनुभयो । साथै, प्रशिक्षार्थी साथीहरूलाई बाजाँ सम्बन्धि अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
टौखेल हाईट बलामी गुठी भवनमा आयोजित उक्त कार्यक्रममा गुठी समाजका अध्यक्ष भाईकाजी बलामी श्रेष्ठले नगरपालिका परिवार, उपस्थित अतिथी, प्रशिक्षक, प्रशिक्षार्थी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।