नागार्जुन नगरपालिकाले समुदायस्तरमै क्षयरोगको समयमै पहिचान र नियन्त्रण गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) प्रविधियुक्त एक्स–रेको प्रयोगमार्फत निःशुल्क सक्रिय क्षयरोग खोजपडताल (TB ACF Screening) शिविर सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार शिविरमा एआई प्रविधिसहितको डिजिटल एक्स–रेमार्फत छातीको परीक्षण गरिनेछ। शिविर विशेषगरी क्षयरोगको जोखिममा रहेका तथा सम्बन्धित लक्षण देखिएका नागरिकलाई लक्षित गरिएको छ। समयमै रोग पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।
सूचनाअनुसार वडा नं. १, २, ३ र ९ का नागरिकका लागि असार १५ गते इचंगुनारायण स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि ४ बजेसम्म शिविर सञ्चालन हुनेछ। त्यसैगरी वडा नं. ५, ६ र १० का नागरिकका लागि असार १६ गते सोही समयमा स्युचाटार स्वास्थ्य चौकीमा निःशुल्क परीक्षण गरिनेछ।
नगरपालिकाका अनुसार लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्या भएका, कुपोषित बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह, क्यान्सर तथा एचआईभी/एड्स भएका व्यक्ति, धूम्रपान तथा लागूपदार्थ सेवन गर्ने, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, विभिन्न कलकारखानामा कार्यरत मजदुरलगायत उच्च जोखिम समूहलाई शिविरमा सहभागी हुन विशेष आग्रह गरिएको छ।
त्यसैगरी दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, ज्वरो आउने, तौल घट्दै जाने, खानामा रुचि कम हुने तथा छाती दुख्ने जस्ता लक्षण देखिएका व्यक्तिहरूलाई पनि शिविरमा उपस्थित भई परीक्षण गराउन अनुरोध गरिएको छ।
नगरपालिकाले एआई प्रविधिको प्रयोगबाट क्षयरोगको प्रारम्भिक पहिचान अझ छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै लक्षित सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेको छ। नगरपालिकाका अनुसार समयमै रोग पहिचान र उपचारले क्षयरोगको संक्रमण नियन्त्रण गर्नुका साथै समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।