नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ५० करोड ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार, असार १० गते सम्पन्न नगर कार्यपालिकाको १३औँ नगरसभा अधिवेशन मा कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमा नगरवासीको जीवनस्तर उकास्ने, दिगो विकासलाई प्रवर्द्धन गर्ने तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, पर्यटन, वातावरण संरक्षण, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई बजेटमार्फत विशेष प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा अधुरा विकास आयोजनालाई सम्पन्न गर्ने, नयाँ योजना कार्यान्वयन गर्ने, स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। साथै वित्तीय अनुशासन, पारदर्शिता, सुशासन र जनसहभागितालाई बजेट कार्यान्वयनको आधार बनाइने उल्लेख गरिएको छ।
कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले भन्नुभयो, “आर्थिक वर्ष २०८३/८४ को बजेट नागरिकको आवश्यकता र नगरपालिकाको दीर्घकालीन विकास लक्ष्यलाई केन्द्रमा राखेर तयार गरिएको हो। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी सिर्जना र सामाजिक विकासलाई उच्च प्राथमिकता दिएका छौँ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै पारदर्शी, उत्तरदायी र परिणाममुखी ढङ्गले बजेट कार्यान्वयन गरी नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने विकास गर्ने हाम्रो प्रतिबद्धता छ।”
नगरपालिकाका अनुसार प्रस्तुत बजेटले समावेशी विकास, आर्थिक समृद्धि, सुशासन तथा गुणस्तरीय सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै “समृद्ध, सुरक्षित र नागरिकमैत्री नागार्जुन” निर्माण गर्ने लक्ष्यलाई साकार पार्ने अपेक्षा गरिएको छ।