नागार्जुन नगरपालिका वडा नं. ४ अन्तर्गत लाम्थुम्की टोलमा रहेको लाम्थुम्की खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा समितिको नयाँ नेतृत्व चयन गरिएको छ, जसअनुसार अध्यक्षमा श्री खिला नाथ दाहाल, उपाध्यक्षमा श्री नवीन निश्चल थपलिया, सचिवमा श्रीमती कमला न्यौपाने, सह–सचिवमा श्री सुरदर्शन ढुंगाना, कोषाध्यक्षमा श्रीमती सुजाता अधिकारी, सह–कोषाध्यक्षमा श्री जीवन भट्टराई, र सदस्यहरूमा श्रीमती ज्ञानुका देवी अधिकारी, श्रीमती भवानी रेग्मी, तथा श्री रबिन्द्र मर्हजन निर्वाचित हुनु भएको छ ।विशेष उल्लेखनीय पक्ष के रह्यो भने अध्यक्ष श्री खिला नाथ दाहाल र सचिव श्रीमती कमला न्यौपाने तेस्रो कार्यकालका लागि निर्विरोध रूपमा पुनः निर्वाचित हुनु भएको हो, जसले उहाँहरूको नेतृत्व र योगदानप्रति समुदायको विश्वास झल्काउँछ । अन्य पदाधिकारी तथा सदस्यहरूको रूपमा भने नयाँ अनुहारहरूको प्रवेश भएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्यले गर्नु भएको थियो । उपस्थित अतिथिहरूमध्ये पूर्व वडा अध्यक्ष करुण कुमार बलामी, हालका वडा अध्यक्ष लक्ष्मीराम शर्मा, विभिन्न खानेपानी समितिका अध्यक्षहरू, भक्तपुर डिभिजन खानेपानी कार्यालयका इञ्जिनियरहरू, समाजसेवीहरू, र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रममा अतिथिहरूले खानेपानी तथा सरसफाईको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत सुदृढीकरण, पारदर्शिता, र दीर्घकालीन स्रोत व्यवस्थापनको आवश्यकता औँल्याउँदै नव–निर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।साधारण सभाले आगामी कार्यदिशा, आर्थिक प्रतिवेदन तथा योजना पनि प्रस्तुत गरी सर्वसम्मतिले अनुमोदन गरेको थियो। समुदायको सहभागिता र नेतृत्वको निरन्तरताले लाम्थुम्की क्षेत्रलाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी सेवातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको छ ।
