नागार्जुन नगरपालिका वडा नं. १०, स्युचाटारस्थित अमर ज्योति माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सव समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नागार्जुन नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा, समाजसेवी तथा नेपाल सरकारका पूर्व सचिव विदुर के.सी. परिवारलाई दोसल्ला ओढाई सम्मान गरियो । उहाले आफ्ना स्व. पुत्र डा. विवेक विक्रम खत्रीको स्मृतिमा स्थापना गरिएको रु १० लाखको अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई नगद र ट्रफी वितरण गर्नुभयो ।त्यसैगरी, विद्यालयमा योगदान पुर्याउने निवृत्त शिक्षक कुल बहादुर खत्रीलाई कदरपत्रसहित सम्मान, तथा हाल कार्यरत शिक्षकहरू कल्पना लम्साल रेग्मी, अमृत जि.सी.,गौरी शर्मा गौतम,लेखापाल इन्द्र बहादुर के.सी.,कम्प्युटर शिक्षक श्रुती पौडेल लाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस नेता दामोदर गौतम, वडा नं. १० का अध्यक्ष सुन्दर बहादुर के.सी., नेकपा एमालेका नेता ईश्वर बिडारी, शिक्षक संघ अध्यक्ष राजु के.सी., सिताराम मा.वि.का प्र.अ. प्रदीप पुरी लगायतले शुभकामना मन्तव्य दिँदै विद्यालयको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।

कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीले शिक्षा विकासमा समुदायको योगदान अत्यन्तै प्रशंसनीय रहेको बताउदै अमर ज्योति विद्यालयले शिक्षा र अनुशासनमा देखाएको निरन्तरता सराहनीय रहेको बताउनुभयो । साथैअक्षयकोषको माध्यमबाट गरिएका यस्ता पहलहरूले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने विश्वास लिनुभयो ।
समारोहमा खेलकुद, नृत्य, गायन, नाटक, र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक सुन्दर पन्तले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण र आगामी योजनाहरू प्रस्तुत गर्दै सबै दाताहरू, शिक्षकहरू, अभिभावकहरू र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूबाट प्रस्तुत सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई झनै आकर्षक बनाएको थियो । यस वार्षिकोत्सव कार्यक्रमले विद्यालयको शैक्षिक, भौतिक र सांस्कृतिक समृद्धिको झल्को दिएको सहभागिहरूले बताएका छन् ।
