श्री विष्णुदेव धिमे तथा बाँसुरी खलःको आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्यमा भएको प्रथम नगर स्तरिय धिमे बाजा प्रतियोगितामा,श्री विष्णुदेव धिमे तथा बाँसुरी खलः ले प्रथम स्थान,फय् ख्वाः मानन्धर गुथि दोस्रो स्थान र रानीवनको झिगु नेवा स् धिमे खल तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यस्तो खालको कार्यक्रम नागार्जुन नगरपालिकामा नै पहिलो पटक भएको हो र यो केवल मनोरञ्जनका लागि होइन, हाम्रो मौलिक संस्कृति र पहिचान जोगाउने एउटा जीवित माध्यम पनि हो। उनीहरूको ताल, लय र स्वरमा पुर्खाको इतिहास, संस्कार र परम्पराको गहिरो भावना समेटिएको छ । पुस्ता–पुस्ताबाट हस्तान्तरण हुँदै आएको यो कला आज पनि जीवित छ,जसले समाजलाई आफ्नो जरो नबिर्सन सम्झाइरहेको छ। आधुनिकताको भीडमा हराउँदै गएको संस्कृतिलाई बचाइराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउदै आईरहेको कार्यक्रमका सभापती तथा पूर्व वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले बताउनुभयो ।

नागार्जुन नगरपालिकाका वडा नं ३ का अध्यक्ष उमेश लामाले धिमे बाजा केवल मनोरञ्जनको साधन मात्र नभई हाम्रो मौलिक संस्कृति, पहिचान र सामुदायिक एकताको प्रतीक भएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगितामार्फत परम्परागत बाजा–वादनको संरक्षण र संवर्द्धन हुनुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना जागृत हुने उल्लेख गर्नुभयो। संस्कृतिको जगेर्ना सबैको साझा दायित्व भएको भन्दै उहाँले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नागार्जुन नगरपालिकाकाकी कार्यवाहक नगरप्रमुख शुसिला अधिकारीले धिमे बाजा केवल संगीत मात्र नभई हाम्रो इतिहास, संस्कार र समुदायको आत्मा भएको बताउनुभयो। उहाँले यस प्रतियोगितामार्फत लोप हुँदै गइरहेका परम्परागत बाजा तथा कलाको संरक्षण गर्दै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो। सबैको सहकार्य र उत्साहले मात्र संस्कृतिको संरक्षण सम्भव हुने विश्वास व्यक्त गर्दै, यस्ता सांस्कृतिक कार्यक्रमहरूमा नगरपालिकाले आवश्यक सहयोग र समर्थन निरन्तर रूपमा गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो।

त्यस्तै पूर्व मन्त्री प्रकाश श्रेष्ठले धिमे बाजा जस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायमा सकारात्मक ऊर्जा, एकता र आपसी सद्भाव बढाउने बताउनुभयो। यस्ता कार्यक्रमले युवालाई मौलिक संस्कृतिप्रति जोड्दै सामाजिक अनुशासन र पहिचान मजबुत बनाउने उहाँको भनाइ थियो। समाजलाई संस्कृतिमार्फत जोड्ने यस्ता प्रयासहरू दीर्घकालीन रूपमा समुदाय सशक्तीकरणतर्फ महत्वपूर्ण हुनेसमेत उहाँले उल्लेख गर्नुभयो।
“समग्रमा कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा सहभागी सबै पक्षको सक्रिय सहभागिता, उत्साह र सहकार्यले धिमे बाजा प्रतियोगितालाई थप अर्थपूर्ण र स्मरणीय बनायो।”
