नागार्जुन नगरपालिका भित्र खोपबाट वञ्चित तथा खोप छुट भएका बालबालिकाको पहिचान गरी पूर्ण खोप सुनिश्चित गर्ने उद्देश्यले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को संघ सशर्त अनुदानअन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले यो अभियान सञ्चालन गरेको हो।नगरपालिकाका अनुसार शहरी क्षेत्र, विशेष समुदाय, उद्योग तथा निर्माण स्थल वरपरका बस्ती, साथै सीमा क्षेत्रहरूमा बसोबास गर्ने ‘शून्य डोज’ तथा खोप छुट बालबालिकाको खोजी गरी उनीहरूलाई अनिवार्य खोप सेवामा समेट्ने लक्ष्य राखिएको छ। यसका लागि नगरपालिकाभित्र कार्यरत सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई २०८२ साल भदौ २९ गतेदेखि असोज ६ गतेसम्म परिचालन गरिएको हो।
अभियानको क्रममा स्वयंसेविकाहरूले नगरपालिकाभित्रका सबै घरधुरीमा पुगेर सर्वेक्षण गर्नेछन्। सर्वेक्षणमार्फत ० देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूको खोप स्थिति पहिचान गरिनेछ। खोप नलगाएका वा आंशिक खोप मात्र लगाएका बालबालिकाको विवरण संकलन गरी उनीहरूलाई नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमार्फत आवश्यक खोप लगाउने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले बालबालिकाको स्वास्थ्य र भविष्य सुरक्षित गर्न खोप अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोपबाट छुट्न नदिन यो अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ। विशेष गरी बसाइँसराइ गर्ने परिवार, अस्थायी बस्ती, उद्योग क्षेत्रमा कार्यरत श्रमिकका परिवार तथा पहुँचबाट टाढा रहेका समुदायमा खोपको पहुँच अझै कमजोर रहेकाले लक्षित रूपमा खोजी अभियान चलाइएको हो।
नागार्जुन नगरपालिकाले सर्वेक्षणका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू घरघरमा आउँदा आवश्यक सहयोग गर्न सबै नगरवासीमा हार्दिक अनुरोध गरेको छ। बालबालिकाको जन्ममिति, खोप कार्ड तथा स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराइदिनु सहयोगको महत्वपूर्ण हिस्सा हुने नगरपालिकाले जनाएको छ। यदि खोप कार्ड नभएमा पनि स्वयंसेविकालाई जानकारी गराउन आग्रह गरिएको छ।
नगर स्वास्थ्य शाखाका अनुसार यो अभियानबाट खोप कवरेज बढ्ने, बाल मृत्युदर घट्ने र खोपबाट रोकथाम गर्न सकिने रोगहरू नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, खोप लगाएको सुनिश्चितता गर्दै भविष्यमा यस्ता बालबालिका पुनः छुट नहोस् भन्ने उद्देश्यले अभिलेख व्यवस्थापनलाई समेत सुदृढ गरिनेछ।
नगरपालिकाले सबै अभिभावक तथा सरोकारवालालाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, “हाम्रा बालबालिकाको स्वस्थ भविष्यका लागि खोप अनिवार्य छ” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबैको सहकार्य अपरिहार्य रहेको जनाएको छ।