नागार्जुन नगरपालिकाद्वारा आयोजित ५औं राष्ट्रिय जेष्ठ नागरिक दिवस को पावन अवसरमा “जेष्ठ नागरिकहरूको हक अधिकार तथा नेपाल सरकारले दिएका सेवा सुविधा तथा कानुनमा भएका व्यवस्था” विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जेष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकार सुनिश्चिततामा जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नागार्जुन नगरपालिकाभित्रका जेष्ठ नागरिकहरू, जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा जेष्ठ नागरिकसम्बन्धी विद्यमान कानुन, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, निःशुल्क उपचार, सहुलियत सुविधा तथा स्थानीय तहबाट उपलब्ध सेवाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा कार्यबाहक नगरप्रमुख सुशिला अधिकारीले जेष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जेष्ठ नागरिकहरूले जीवनभर समाज र राष्ट्रका लागि गरेको योगदानको सम्मान गर्नु हाम्रो दायित्व हो। उहाँहरूका हक अधिकार कागजमा मात्र सीमित नभई व्यवहारमा लागू हुनुपर्छ।” उहाँले स्थानीय तहले जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी पनि दिनुभयो।
कार्यबाहक नगरप्रमुख कार्कीले जेष्ठ नागरिकहरूका समस्या, आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जेष्ठ नागरिक खुसी र सुरक्षित भए मात्र समाज सन्तुलित र समृद्ध हुन्छ,” उहाँको भनाइ थियो।

कार्यक्रममा विषय विज्ञहरूले जेष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली, सामाजिक सुरक्षा प्रणाली तथा कानुनी उपचारका उपायबारे प्रस्तुतीकरण दिएका थिए। अभिमुखीकरणका क्रममा जेष्ठ नागरिकहरूले सेवा सुविधा प्राप्त गर्दा भोग्नुपरेका व्यवहारिक कठिनाइहरू पनि साझा गरेका थिए। सहभागीहरूले स्वास्थ्य सेवा पहुँच, यातायात सहुलियत र सामाजिक सम्मान अझै बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।

नगरपालिकाका प्रतिनिधिहरूले जेष्ठ नागरिकहरूका लागि नियमित स्वास्थ्य परीक्षण, दिवा सेवा केन्द्र, सचेतनामूलक कार्यक्रम तथा सामाजिक सहभागिता बढाउने योजनाहरू क्रमशः कार्यान्वयन गरिने जानकारी दिए। अभिमुखीकरण कार्यक्रमले जेष्ठ नागरिकहरूलाई आफ्ना अधिकारप्रति सचेत गराउनुका साथै सेवा सुविधा उपयोग गर्न आत्मविश्वास बढाएको बताइएको छ।
कार्यक्रमको समापन गर्दै आयोजकले जेष्ठ नागरिक दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी वर्षभरि नै जेष्ठ नागरिकको सम्मान र संरक्षणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाएको छ। नगरपालिकाले जेष्ठ नागरिकमैत्री समाज निर्माणका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।
