नागार्जुन नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक तथा उत्पादनमुखी बनाउन गाई/भैँसी, बाख्रा र कुखुरापालनसम्बन्धी तीन दिने तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक पशुपन्छी पालक कृषकहरूलाई आवेदन दिन आह्वान गरेको हो।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त तालिममा सहभागी हुन चाहने कृषकहरूले गाई/भैँसी, बाख्रा वा कुखुरापालनमध्ये कुनै एक विषय रोजेर आवेदन दिन सक्नेछन्। तालिममार्फत पशुपालन व्यवसायमा आधुनिक ज्ञान, व्यवस्थापन सीप तथा रोग नियन्त्रणसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिने अपेक्षा गरिएको छ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा पशु सेवा शाखामा निवेदन पेश गर्न आग्रह गरेको छ। प्राप्त निवेदनका आधारमा सहभागी छनोट गरिने जनाइएको छ।
सूचनाअनुसार स्थानीय पशुपन्छी पालक कृषकलाई प्राथमिकता दिइनेछ। साथै, यसअघि नागार्जुन नगरपालिकाको पशु सेवा शाखाबाट कुनै तालिम वा अनुदान सुविधा नलिएका कृषकहरूलाई विशेष प्राथमिकतामा राखिने व्यवस्था गरिएको छ।
नगरपालिकाले पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले यस्ता क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। तालिमबाट कृषकहरूले व्यवसायिक पशुपालनका नयाँ प्रविधि र व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गरी उत्पादन वृद्धि तथा आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा पशुपालन व्यवसायको विस्तार र दिगो विकासमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने नगरपालिकाको विश्वास रहेको छ।