नागार्जुन नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने भएको छ। शून्य डोज तथा खोप छुटेका बालबालिकाको पहिचान गरी खोप सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिकाले विशेष अभियान सञ्चालन गर्न लागेको हो।
आर्थिक वर्ष २०८२/०८३ को संघीय सशर्त अनुदान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाभित्र रहेका शहरी क्षेत्र, विशेष समुदाय, उद्योग तथा निर्माणस्थल, सीमावर्ती क्षेत्रलगायतका स्थानमा खोप नलगाएका वा खोप छुटेका बालबालिकाको खोजी गरिनेछ। साथै, उनीहरूलाई आवश्यक खोप लगाउने तथा खोप लगाएको सुनिश्चित गर्ने कार्यसमेत गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार चैत १६ गतेदेखि चैत ३० गतेसम्म नगरपालिकाअन्तर्गतका सबै १० वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिनेछन्। अभियानका क्रममा घरघरमा पुगेर सर्वेक्षण, तथ्यांक संकलन तथा खोपसम्बन्धी जानकारी लिने कार्य हुनेछ।
यस कार्यक्रमको मुख्य लक्षित समूह ० देखि ५९ महिनासम्मका बालबालिका रहेका छन्। बालबालिकाले नियमित रूपमा पाउनुपर्ने खोपबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सर्वेक्षणका लागि घरघरमा आउने स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई आवश्यक सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ। अभियानले बालबालिकामा पूर्णखोप सुनिश्चित गरी विभिन्न खोपबाट रोकथाम गर्न सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।