नागार्जुन नगरपालिकाले कृत्रिम बौद्धिकता (Artificial Intelligence-AI) सहितको एक्स–रे प्रविधि प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपडताल तथा निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै उच्च जोखिममा रहेका समुदायका साथै इच्छुक नगरवासीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको हो।
नगरपालिकाका अनुसार वडा नं. ६, ७ र ८ अन्तर्गत पर्ने घना बस्ती, सिमान्तकृत तथा पिछडिएका समुदाय बसोबास गर्ने क्षेत्र, गुम्बा, वृद्धाश्रम, होस्टेल, मदरसा, कारखाना, सुकुम्बासी बस्ती तथा मौसमी बसाइँसराइ हुने स्थानहरूमा क्षयरोगको जोखिम तुलनात्मक रूपमा बढी हुने भएकाले विशेष अभियान सञ्चालन गर्न लागिएको हो। इट्टाभट्टा, निर्माण क्षेत्रमा कार्यरत मजदुर तथा प्रवासी कामदारहरूलाई समेत लक्षित गरी शिविर आयोजना गरिएको जनाइएको छ।
शिविर आगामी २०८३ वैशाख २ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ६ स्थित रामकोटको शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ। शिविरमा आधुनिक AI प्रविधिसहितको एक्स–रे परीक्षणमार्फत क्षयरोगको सम्भावित जोखिम पहिचान गरिनेछ। आवश्यक परे थप परीक्षण तथा उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिससमेत गरिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार क्षयरोगको समयमै पहिचान र उपचार गर्न सकेमा रोगको संक्रमण फैलिनबाट रोक्न सकिन्छ। विशेषगरी लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने, राति पसिना आउने जस्ता लक्षण देखिएका व्यक्तिहरूले परीक्षण गराउनु आवश्यक मानिन्छ।
नगरपालिकाले सबै नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको अवसर उपयोग गर्न तथा क्षयरोग नियन्त्रण अभियानलाई सफल बनाउन शिविरमा सहभागी हुन अनुरोध गरेको छ। यस अभियानले समुदायस्तरमा क्षयरोगको प्रारम्भिक पहिचान र नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।