नागार्जुन नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका निजी क्षेत्रका रोजगारदाता, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूलाई ‘श्रम संसार’ (Shramsansar) प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै श्रम तथा रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी र एकीकृत बनाउन उक्त प्रणालीमा सूचीकृत हुन अनुरोध गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको श्रम संसार प्रणालीमार्फत श्रम तथा रोजगारसम्बन्धी सेवा, सूचना तथा अवसरहरूलाई डिजिटल माध्यमबाट एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्य रहेको छ। यसैअनुसार नागार्जुन नगरपालिका क्षेत्रभित्र रहेका सबै निजी क्षेत्रका रोजगारदाता, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रणालीमा आबद्ध हुनुपर्ने नगरपालिकाले जनाएको छ।
सूचनाअनुसार रोजगारदाता तथा संस्थाहरूले रोजगारीका अवसर, रिक्त पद, सीपमूलक तालिम तथा अन्य श्रमसम्बन्धी सूचनाहरू श्रम संसार प्रणालीमा अनिवार्य रूपमा दर्ता गरी सार्वजनिक गर्नुपर्नेछ। साथै, प्रणालीमा आबद्ध भइसकेपछि त्यसको जानकारी नगरपालिकाको रोजगार सेवा केन्द्रमा गराउन पनि अनुरोध गरिएको छ।
श्रम संसार प्रणालीको प्रयोगले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच सहज समन्वय हुने, रोजगारीका अवसरहरूको पहुँच विस्तार हुने तथा श्रम बजारसम्बन्धी तथ्यांक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इच्छुक संस्थाहरूले श्रम संसार प्रणालीमा आबद्ध हुन श्रम संसार पोर्टल प्रयोग गर्न सक्नेछन्। साथै मोबाइल प्रयोगकर्ताले Play Store वा App Store मार्फत ‘Shramsansar’ एप डाउनलोड गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि नागार्जुन नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ।