नागार्जुन नगरपालिकाले गाई तथा भैंसीमा देखिने बाँझोपनसम्बन्धी समस्या समाधानका लागि ‘बाँझोपन निवारण डोर टु डोर शिविर’ सञ्चालन गर्ने भएको छ। नगरपालिकाको पशु सेवा शाखाले सूचना जारी गर्दै समस्या भएका पशुका विवरण उपलब्ध गराउन कृषक तथा सम्बन्धित प्राविधिकलाई आग्रह गरेको हो।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको शिविरले पशुपालन क्षेत्रमा देखिएको बाँझोपनको समस्या न्यूनीकरण गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। गाई तथा भैंसीमा बहर नखोज्ने, पटक–पटक उल्टिने, समयमै गर्भ नरहने लगायतका समस्याका कारण कृषकको उत्पादन लागत बढ्नुका साथै आर्थिक क्षति हुने गरेको छ।
यस्ता समस्याको पहिचान तथा उपचारका लागि नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने योजना बनाएको जनाएको छ। शिविरमार्फत पशु स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचारसम्बन्धी सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ।
नगरपालिकाले नागार्जुन क्षेत्रभित्र गाई तथा भैंसी पालन गर्दै आएका कृषकहरू तथा कृत्रिम गर्भाधान कार्यमा संलग्न प्राविधिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पशु सेवा शाखामा निवेदन दिन अनुरोध गरेको छ। प्राप्त निवेदनका आधारमा समस्या भएका पशुको विवरण संकलन गरी शिविर सञ्चालन गरिने जनाइएको छ।
पशु सेवा शाखाका अनुसार समयमै समस्या पहिचान गरी उपचार गर्न सकेमा पशुको प्रजनन क्षमता सुधार हुनुका साथै दुग्ध उत्पादन वृद्धि र कृषकको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्नेछ।
नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।