नागार्जुन नगरपालिकाले भवन निर्माण सम्पन्न प्रमाणपत्र (Completion Certificate) जारी भइसकेपछि पनि स्वीकृत नक्सा तथा भवन निर्माण मापदण्ड विपरीत थप तल्ला वा कोठा निर्माण भइरहेको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाले सार्वजनिक अपिल जारी गर्दै प्रचलित कानुन, भवन निर्माण मापदण्ड तथा स्वीकृत नक्सा अनुसार मात्र निर्माण कार्य गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको जनाएको छ। निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त भइसकेपछि बिना अनुमति अतिरिक्त संरचना निर्माण गर्नु कानुन विपरीत कार्य हुने नगरपालिकाको भनाइ छ।
यस प्रकारका अनधिकृत निर्माणले भवनको संरचनागत सुरक्षा कमजोर पार्नुका साथै विपद् व्यवस्थापन, सहरी सौन्दर्य र समग्र नगर योजनामा समेत नकारात्मक असर पार्ने चेतावनी नगरपालिकाले दिएको छ।
नगरपालिकाले अनुमति बिना निर्माण गरिएको पाइएमा सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी स्वयंले व्यहोर्नुपर्ने स्पष्ट पारेको छ। साथै, यस्ता अनधिकृत संरचनामाथि जरिवाना, निर्माण रोक्का तथा आवश्यक परे भत्काउनेसम्मका कानुनी कारबाही प्रचलित कानुनअनुसार अघि बढाइने बताइएको छ।
नगरपालिकाले सुरक्षित, व्यवस्थित र योजनाबद्ध सहरी विकासका लागि सबै नगरवासीसँग सहकार्य गर्न आग्रह गरेको छ। नियमको पालना नगरेमा भविष्यमा थप कडा कारबाही हुन सक्ने समेत नगरपालिकाले चेतावनी दिएको छ।
नगरवासीलाई स्वीकृत नक्सा र मापदण्डअनुसार मात्र निर्माण कार्य गर्न तथा कानुनी प्रक्रिया पालना गर्न अनुरोध गरिएको छ।