नागार्जुन नगरपालिकामा नसर्ने रोग (Non-Communicable Diseases) सम्बन्धी बहुवर्षीय सर्वेक्षण अध्ययन सञ्चालन हुने भएको छ। नगरपालिकाले जनस्वास्थ्य विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM), त्रिभुवन विश्वविद्यालय, ग्रिन तारा नेपाल तथा बेलायतका विभिन्न विश्वविद्यालयहरूसँगको संयुक्त आयोजनामा उक्त अध्ययन सञ्चालन गर्न लागेको हो।
नगरपालिकाका अनुसार वडा नं. ६, ७ र ८ का सम्पूर्ण घरधुरीमा सर्वेक्षण सञ्चालन गरिनेछ। यस अध्ययनको मुख्य उद्देश्य समुदायमा नसर्ने रोगहरूको वर्तमान अवस्था, जोखिम कारकहरू तथा यसको प्रभावबारे तथ्यगत जानकारी संकलन गर्नु हो। संकलित तथ्यांकले नगरको स्वास्थ्य नीति निर्माण तथा कार्यक्रम सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सर्वेक्षण अन्तर्गत १८ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लक्षित गरिएको छ। घरदैलोमा आउने अनुसन्धानकर्ताहरूले सहभागीहरूसँग स्वास्थ्यसम्बन्धी प्रश्नावली भर्नेछन् भने आवश्यक शारीरिक परीक्षणसमेत गरिनेछ। ती परीक्षणहरूमा रक्तचाप जाँच, रगतमा चिनीको मात्रा परीक्षण, श्वासप्रश्वास अवस्था विश्लेषण, शरीरको तौल–उचाइ अनुपात (BMI) परीक्षण तथा मानसिक र स्मरण सम्बन्धी मूल्यांकन समावेश रहनेछ।
नगरपालिकाका अनुसार पहिलो चरणको सर्वेक्षण २०८३ वैशाख २ गतेदेखि असार मसान्तसम्म सञ्चालन हुनेछ भने आवश्यकता अनुसार समय थप गर्न सकिनेछ। ग्रिन तारा नेपालका अनुसन्धानकर्ताहरूले घरदैलोमै पुगेर तथ्यांक संकलन गर्नेछन्।
नगरपालिकाले वडा नं. ६, ७ र ८ का सम्पूर्ण नगरवासीलाई सर्वेक्षणमा सक्रिय रूपमा सहभागी भई सहयोग गर्न अनुरोध गरेको छ। यस अध्ययनले दीर्घकालीन रूपमा नसर्ने रोगको नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।