नागार्जुन नगरपालिकाले पशुपालक कृषकहरूका लागि निःशुल्क वर्षे घाँस टियोसेन्टि (मकैचरी) को बीउ वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। बागमती प्रदेश सरकार, पशु सेवा कार्यालय लगनखेल, ललितपुरको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त बीउ वितरण कार्यक्रम सञ्चालन हुन लागेको हो।
नगरपालिकाका अनुसार कुल २०० केजी घाँसको बीउ नागार्जुन नगरपालिकालाई प्राप्त भएको छ, जसलाई नगरभित्रका पशुपालक कृषकहरूलाई निःशुल्क रूपमा वितरण गरिनेछ। कार्यक्रमअन्तर्गत प्रति रोपनी २ केजीका दरले बीउ वितरण गरिने जनाइएको छ।
बीउ वितरण कार्यक्रम २०८३ वैशाख ३१ गतेदेखि नागार्जुन नगरपालिका पशु सेवा शाखामा सञ्चालन हुनेछ। कृषकहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समयमा उपस्थित भई बीउ प्राप्त गर्न सक्नेछन्।
नगरपालिकाले घाँस खेती विस्तारमार्फत पशुपालनलाई सुदृढ बनाउने, दाना खर्च घटाउने तथा दूध उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रमले कृषकहरूको आर्थिक अवस्था सुधार गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बीउ प्राप्त गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनेछ। साथै, १० केजीभन्दा बढी बीउ आवश्यक परेमा जग्गाधनी प्रमाणपत्र वा सम्झौता पत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले सबै इच्छुक पशुपालक कृषकहरूलाई समयमै उपस्थित भई निःशुल्क घाँस बीउको लाभ लिन आग्रह गरेको छ।