नागार्जुन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको समुदायमा आधारित पुनर्स्थापना सहयोग (CBR) कार्यक्रम अन्तर्गत शारीरिक तथा बहिरा अपाङ्गता भएका महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सञ्चालन गर्न गैरसरकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित सशर्त अनुदान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नगरपालिकाको CBR कार्यक्रम सञ्चालन समितिको निर्णयअनुसार रु. १,५०,००० बजेटको सीमाभित्र रहेर तालिम सञ्चालन गरिने जनाइएको छ।
नगरपालिकाले अपाङ्गता भएका महिलाहरूलाई यौनजन्य हिंसा तथा अन्य जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले आत्मरक्षा सम्बन्धी सीप विकास गर्ने लक्ष्य लिएको छ। यसका लागि अपाङ्गता क्षेत्रमा काम गर्ने योग्य गैरसरकारी संस्थाहरूसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ।
सूचनाअनुसार इच्छुक संस्था वा संस्थाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नागार्जुन नगरपालिकाको महिला तथा बालबालिका शाखामा प्रस्ताव पेश गर्नुपर्नेछ। स्थानीय स्तरमा अपाङ्गता सम्बन्धी काम गर्ने संस्था नभएमा जिल्ला भित्रका सम्बन्धित प्रकृतिका संस्थालाई छनोट गर्न सकिने व्यवस्था गरिएको छ।
प्रस्ताव पेश गर्ने संस्थाले अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित हुनुपर्ने, सम्बन्धित विधानमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने उद्देश्य उल्लेख हुनुपर्ने, संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र, समाज कल्याण परिषद् सदस्यता, नियमित लेखा परीक्षण, भौतिक पूर्वाधारको अवस्था लगायतका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
त्यस्तै, संस्थाको कार्यालय, आधिकारिक सम्पर्क नम्बर तथा इमेल ठेगाना हुनुपर्ने, स्थानीय तहमा सूचीकृत हुनुपर्ने तथा कम्तीमा दुई वर्ष अपाङ्गता क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने शर्त राखिएको छ।
नगरपालिकाले लैङ्गिक तथा यौन दुर्व्यवहार, भ्रष्टाचार वा कुनै पनि फौजदारी कसुरमा संलग्न नभएको सुनिश्चितता समेत अनिवार्य गरेको छ।
नगरपालिकाले यस कार्यक्रमले अपाङ्गता भएका महिलाको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूको सुरक्षा र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।