नागार्जुन नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का सबै योजना तथा कार्यक्रमहरूको भुक्तानी र खाता बन्द हुने सम्बन्धमा सरोकारवाला सबैलाई आवश्यक जानकारी गराएको छ। नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि–सीतापाइला, काठमाडौंले सूचना जारी गर्दै निर्धारित समयभित्र सम्पूर्ण भुक्तानी प्रक्रिया सम्पन्न गर्न अनुरोध गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) अनुसार आर्थिक वर्ष समाप्त हुनु कम्तीमा सात दिन अगावै भुक्तानी दिनुपर्ने कानूनी व्यवस्था रहेको नगरपालिकाले जनाएको छ। सोहीअनुसार निकासा, खर्चको लेखा अद्यावधिक तथा भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार आर्थिक वर्षको अन्त्यमा कामको चाप बढ्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) मा प्राविधिक समस्या आउने तथा कर दाखिला र लेखा मिलान जस्ता कार्यहरू समेत गर्नुपर्ने भएकाले सबै योजना तथा कार्यक्रमहरू २०८३ असार १० गतेभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ।
त्यस्तै, सबै सरोकारवालाहरूलाई २०८३ असार १५ गतेभित्र आवश्यक भुक्तानी लिन आग्रह गरिएको छ। सो समयसीमापछि भुक्तानी नलिएमा वा निकासा प्रक्रिया बन्द भएमा कार्यालय जिम्मेवार नहुने स्पष्ट गरिएको छ।
नगरपालिकाले निर्माण व्यवसायी, उपभोक्ता समिति, वडा कार्यालय, विषयगत शाखा तथा अन्य सरोकारवालालाई समयमै समन्वय गरी कार्य सम्पन्न गर्न आग्रह गरेको छ।
यस सूचनाले आर्थिक व्यवस्थापनलाई पारदर्शी, समयमै सम्पन्न र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।