नागार्जुन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिला समूहका प्रतिनिधिहरूलाई लक्षित गर्दै मानसिक स्वास्थ्य तथा मनोसामाजिक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“समृद्ध नागार्जुनको आधार सुशासन, मानव विकास र पर्यटन सहितको पूर्वाधार” भन्ने नारालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रम २०८३ साल असार ५ गते नागार्जुन नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो। बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नगरभित्रका विभिन्न महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, पारिवारिक तथा सामाजिक वातावरणले मानसिक स्वास्थ्यमा पार्ने प्रभाव, मनोसामाजिक सहयोगका उपायहरू लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै समुदाय स्तरमै मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महिला समूहहरूको भूमिका महत्वपूर्ण रहने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कमला चापागाईंले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्व दिन आवश्यक रहेको बताउँदै समुदायमा अझै पनि मानसिक स्वास्थ्यका विषयमा खुला रूपमा छलफल गर्ने वातावरण नबनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राख्ने होइन, समयमै पहिचान गरी आवश्यक सहयोग र परामर्श लिनुपर्छ।
महिला समूहहरू समुदायका महत्वपूर्ण आधारस्तम्भ भएकाले उहाँहरू मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना घरघरमा पुर्याउन सकिन्छ।” उहाँले यस्ता कार्यक्रमहरूले मानसिक स्वास्थ्यप्रति रहेको भ्रम र विभेद हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा पनि समुदाय केन्द्रित स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो।