नागार्जुन नगरपालिकाले लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, परिवार नियोजन तथा जनचेतनामूलक अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित बिदाइ गरेको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उमेर हद तथा सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको थियो। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न खेलेको भूमिका अतुलनीय रहेको बताएका थिए। विशेषगरी ग्रामीण तथा शहरी समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य निगरानी, नियमित खोप अभियान सञ्चालन तथा स्वास्थ्य सेवाप्रति नागरिकको पहुँच सुनिश्चित गर्न उनीहरूको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिकाकी उपप्रमुख सुसिला अधिकारी महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य क्षेत्रका वास्तविक अभियन्ता भएको बताइन्। उनले भनिन्, “महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो व्यक्तिगत समय र पारिवारिक जिम्मेवारीका बीच पनि समुदायको स्वास्थ्य सुधारका लागि निस्वार्थ सेवा प्रदान गर्नुभएको छ। उहाँहरूको योगदान नगरपालिकाले सधैं उच्च सम्मानका साथ स्मरण गर्नेछ। स्वास्थ्य क्षेत्रमा उहाँहरूले पुर्याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।”
उपप्रमुखले अवकाशपछि पनि स्वयंसेविकाहरूले समाजमा आफ्नो अनुभव र ज्ञान बाँड्दै समुदायको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्। साथै नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा स्वयंसेविकाहरूको हकहित र सम्मानका लागि निरन्तर काम गरिरहेको जानकारी दिइन्।
कार्यक्रमका सहभागीहरूले सम्मानित तथा बिदाइ भएका स्वयंसेविकाहरूको सेवाभाव, समर्पण र योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँहरूको अनुभवबाट समुदायले लाभ लिन सक्ने विश्वास व्यक्त गरेका थिए।
नागार्जुन नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने अभियानलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरेको थियो।