नागार्जुन नगरपालिकामा अवस्थित श्री जनउद्धार माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न सामुदायिक विद्यालयस्तरीय “सामूहिक लोकनृत्य प्रतियोगिता–२०८३” को नतिजा सार्वजनिक गरिएको छ। नेपाली कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र विद्यालयस्तरमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यालयहरूले नेपाली लोकसंस्कृतिलाई झल्काउने विविध लोकनृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुति, मौलिक पहिरन, नृत्यकला तथा सांस्कृतिक प्रस्तुतीकरणले कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएको थियो।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार Ratna Rajya Secondary School प्रथम, Sitapaila Secondary School द्वितीय, Sita Bal Bikas School तृतीय तथा Amarjyoti Secondary School चौथो स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विजेता विद्यालयहरूलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले विद्यालयस्तरमा यस्ता सांस्कृतिक गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता तथा आफ्नो मौलिक संस्कृति प्रतिको सम्मानभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा विद्यालयहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
आयोजक श्री जनउद्धार माध्यमिक विद्यालयले प्रतियोगिताको सफलतामा सहयोग पुर्याउने सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले सामुदायिक विद्यालयबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना र सांस्कृतिक चेतनाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।