नेपाल मानवअधिकार संगठन नागार्जुन नगर कमिटीको आयोजनामा नागार्जुन–८ भिमढुङ्गा,पाखुरे फेदीस्थित भिमढुंगा माध्यमिक विद्यालयमा “विद्यालयमा मानवअधिकार शिक्षा” विषयक एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अधिवक्ता ऋषिकेश श्रेष्ठले सहजीकरण गर्दै मानवअधिकारका आधारभूत सिद्धान्त, नागरिकका अधिकार र कर्तव्य, बालअधिकार, शिक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।

मानवअधिकार प्रत्येक व्यक्तिको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय हो। मानवअधिकारको सम्मान र संरक्षणले समानता, न्याय, स्वतन्त्रता तथा मानव मर्यादाको प्रवर्द्धन गर्दै सभ्य र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । "विद्यालय तहबाटै मानवअधिकार सम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्न सके विद्यार्थीहरूमा आफ्नो अधिकार र कर्तव्यप्रतिको समझदारी बढ्नुका साथै सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकास हुने" नेपाल मानवअधिकार संगठन नागार्जुन नगर कमिटीका सभापति उमेश मल्ल ठकुरीले बताउनुभयो। ।
त्यसैगरी कार्यक्रमका प्रस्तोता तथा नेपाल मानव अधिकार संगठन काठमाडौं जिल्ला सचिव,अधिवक्ता ऋषिकेश श्रेष्ठले मानवअधिकार, नागरिक सचेतना, सामाजिक उत्तरदायित्व तथा युवा सहभागिता सम्बन्धी कार्यक्रमहरू समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रभावकारी माध्यम भएको बताउनुभयो। भिमढुंगा माध्यमिक विद्यालयमा आयोजित यो कार्यक्रम पनि संगठनले विगतदेखि सञ्चालन गर्दै आएका मानवअधिकार प्रवर्द्धनसम्बन्धी अभियानहरूको निरन्तरता रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउनुका साथै अरूको अधिकारको सम्मान गर्न, भेदभावविरुद्ध आवाज उठाउन तथा जिम्मेवार नागरिकका रूपमा विकसित हुन प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल मानवअधिकार संगठन नागार्जुन नगर समितिका सदस्यहरू, वडा संयोजकहरू, गुरुवर्ग तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मानवअधिकार शिक्षा सम्बन्धी उक्त कार्यक्रम सहभागीहरूको सक्रिय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको थियो।