नागरिकहरूको सुरक्षा, शान्ति र सहज जीवनयापनलाई उच्च प्राथमिकतामा राख्दै नागार्जुन नगरपालिकाले नगर क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्च प्रविधियुक्त सिसी क्यामेरा (CC Camera) जडान कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ।
नगरपालिकाले Kathmandu Valley Police Office सँगको संयुक्त सहकार्य तथा समन्वयमा नगरका विभिन्न चोक, संवेदनशील क्षेत्र तथा महत्त्वपूर्ण सार्वजनिक स्थानहरूमा सिसी क्यामेरा जडान गर्ने कार्य सञ्चालन गरिरहेको जनाएको छ। यस अभियानअन्तर्गत नगर क्षेत्रका मुख्य सडक, सार्वजनिक स्थल तथा सुरक्षा दृष्टिले संवेदनशील स्थानहरूमा आधुनिक प्रविधियुक्त क्यामेरा जडान गरी निगरानी प्रणालीलाई थप सुदृढ बनाइँदै छ।

नगरपालिकाका अनुसार सिसी क्यामेरा जडानले अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै सम्भावित आपराधिक गतिविधिको निगरानी, घटनाको अनुसन्धान तथा प्रमाण संकलनमा समेत यस प्रविधिले सहयोग पुग्ने विश्वास लिइएको छ।
यस सम्बन्धमा कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले प्रविधिको अधिकतम उपयोगमार्फत नागरिकमैत्री, सुरक्षित र जिम्मेवार नगर निर्माण गर्ने उद्देश्यअनुसार यो अभियान अघि बढाइएको बताउनुभयो। उहाँले नगरवासीको सुरक्षा सुनिश्चित गर्न नगरपालिकाले सुरक्षा निकायसँग आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिँदै जाने उल्लेख गर्नुभयो।
नागार्जुन नगरपालिकाले सुरक्षित, व्यवस्थित तथा अपराधमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत नगरको सुरक्षा संरचनालाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। नगरवासीको सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अभियान आगामी दिनमा थप विस्तार गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ।