नागार्जुन नगरपालिकाको आयोजनामा तथा मानवसेवा आश्रमको सहकार्य एवं व्यवस्थापनमा “सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त नागार्जुन नगरपालिका” घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाभित्र सडकमा कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार, संरक्षण, पुनर्स्थापना तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानको सफलतासँगै नगरपालिकालाई औपचारिक रूपमा सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सामाजिक अभियन्ता, मानवसेवा आश्रमका पदाधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सडकआश्रित तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, स्वास्थ्य उपचार, संरक्षण र पुनर्स्थापनाका लागि गरिएको प्रयासबारे जानकारी प्रस्तुत गरिएको थियो।

नगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यमा विभिन्न स्थानमा रहेका बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित व्यक्तिहरूको खोज, उद्धार तथा आश्रय व्यवस्थापनको कार्यलाई निरन्तर रूपमा अघि बढाउँदै आएको थियो। उक्त अभियानअन्तर्गत उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा, भोजन, आवास तथा हेरचाहको व्यवस्था गरिएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको दृष्टिकोणले यो अभियान महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीय तह, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यबाट सकारात्मक परिवर्तन सम्भव भएको धारणा व्यक्त गरेका थिए।
नागार्जुन नगरपालिकाले आगामी दिनमा पनि सडकमा मानव जीवन बिताउन बाध्य हुने अवस्था सिर्जना हुन नदिन आवश्यक निगरानी, उद्धार तथा पुनर्स्थापनाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस घोषणासँगै नागार्जुन नगरपालिका सामाजिक उत्तरदायित्व, मानवता र समावेशी विकासको क्षेत्रमा उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको विश्वास व्यक्त गरिएको छ।