नागार्जुन नगरपालिका र मानव सेवा आश्रम रानीवनको सहकार्यमा नागार्जुन क्षेत्रभित्र रहेका बेसहारा तथा सडकआश्रित व्यक्तिहरूको खोजी, उद्धार तथा व्यवस्थापन सम्बन्धी कार्यको अनुगमन सम्पन्न भएको छ।
सहयोगापेक्षी, बेसहारा तथा सडकआश्रित व्यक्तिहरूलाई सुरक्षित आश्रय, आवश्यक हेरचाह तथा सम्मानजनक जीवनयापनको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्न अनुगमन गरिएको हो। अनुगमनका क्रममा नगरपालिकाका प्रतिनिधि तथा मानव सेवा आश्रमका पदाधिकारीहरूले विभिन्न स्थानको अवलोकन गर्दै उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिएका थिए।

कार्यक्रमअन्तर्गत सडक, सार्वजनिक स्थल तथा अन्य संवेदनशील क्षेत्रमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको पहिचान, उद्धार तथा आश्रमसम्मको पहुँच सुनिश्चित गर्ने कार्यको समीक्षा गरिएको थियो। साथै उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, आश्रय व्यवस्थापन तथा पुनर्स्थापनाका प्रयासबारे समेत जानकारी आदानप्रदान गरिएको थियो।
अनुगमन टोलीले सडकआश्रित मानवमुक्त नगर निर्माण अभियानलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, सरोकारवाला निकाय तथा सामाजिक संस्थाबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो। मानव सेवा आश्रमले उद्धार गरिएका व्यक्तिहरूलाई भोजन, आवास, स्वास्थ्य सेवा तथा आवश्यक हेरचाह उपलब्ध गराउँदै आएको जानकारी पनि दिइएको थियो।
नागार्जुन नगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यलाई निरन्तरता दिँदै सहयोगापेक्षी तथा बेसहारा व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। मानवता, सामाजिक उत्तरदायित्व र समावेशी समाज निर्माणको लक्ष्यअनुसार सञ्चालन भइरहेको उक्त अभियानले नागार्जुन क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र मानवमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।