नागार्जुन नगर कार्यपालिकाको १३औँ नगरसभा अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगरसभामा कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पर्यटन, वातावरण संरक्षण, खानेपानी, सरसफाइ, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको छ। साथै नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्दै समृद्ध, समावेशी र दिगो विकासतर्फ नगरपालिकालाई अघि बढाउने लक्ष्य लिइएको जनाइएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षको बजेटमा अधुरा विकास आयोजनालाई सम्पन्न गर्ने, नयाँ योजनाहरू कार्यान्वयन गर्ने, स्थानीय उत्पादन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा आधारभूत सेवाको पहुँच विस्तार गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ। नगरसभामा जनप्रतिनिधिहरूले नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नागरिकको आवश्यकता र स्थानीय विकासलाई केन्द्रमा राखेर कार्यान्वयन गर्न सुझाव दिएका थिए।
कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले भन्नुभयो,
“आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तयार गर्दा हामीले नागरिकको आवश्यकता, स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग तथा दिगो विकासलाई केन्द्रमा राखेका छौँ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी र सुशासनलाई प्राथमिकतामा राख्दै नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई अघि बढाउने हाम्रो लक्ष्य हो। पारदर्शिता, उत्तरदायित्व र जनसहभागितासहित समृद्ध नागार्जुन निर्माणमा नगरपालिका प्रतिबद्ध छ।”
नगरपालिकाले आगामी आर्थिक वर्षमा योजनाको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन तथा गुणस्तरीय सेवा प्रवाहमार्फत नगरवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा जोड दिने जनाएको छ।