नागार्जुन नगरपालिकाको कृषि शाखाद्वारा स्थानीय कृषकहरूको आयआर्जन वृद्धि तथा व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा ७८ जना कृषकलाई माहुरी तथा घार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न वडाका छनोट भएका ७८ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरिएको हो। मौरीपालन व्यवसायलाई प्रोत्साहन गरी कृषकको आर्थिक अवस्था सुदृढ बनाउनुका साथै कृषि उत्पादनमा परागसेचनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा कृषि शाखाका प्रतिनिधिहरूले मौरीपालन व्यवसायको महत्व, आधुनिक व्यवस्थापन, घारको उचित हेरचाह, रोग तथा किराको नियन्त्रण, मह उत्पादन र बजारीकरणका विषयमा कृषकहरूलाई आवश्यक जानकारी तथा परामर्शसमेत प्रदान गरेका थिए।
सहभागी कृषकहरूले नगरपालिकाको अनुदान कार्यक्रमले मौरीपालन व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसबाट अतिरिक्त आम्दानी गर्न सकिने अपेक्षा गरेका थिए। उनीहरूले यस्ता उत्पादनमुखी कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
नागार्जुन नगरपालिकाले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउने लक्ष्यअनुसार कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले मौरीपालन, तरकारी खेती, फलफूल उत्पादन तथा अन्य व्यावसायिक कृषि कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका अनुसार यस्ता अनुदानमुखी कार्यक्रमले कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्नुका साथै स्थानीय उत्पादन वृद्धि, आत्मनिर्भरता र आर्थिक समृद्धिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।