नागार्जुन नगरपालिका र बिम्ब नेपाल (Bimba Nepal) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–८ स्थित भिमढुंगा स्वास्थ्य चौकी मा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट १३७ जना सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको सहभागितामा Video X-ray, ज्येष्ठ नागरिक स्वास्थ्य परामर्श, महिला तथा स्त्रीरोग परामर्श तथा NCD (Non-Communicable Diseases) Screening लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो। स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र थप उपचार आवश्यक भएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझावसमेत दिइएको थियो।
आयोजकका अनुसार शिविरमा कुल १३७ जना सेवाग्राही दर्ता भएका थिए। तीमध्ये ११५ जनाले Video X-ray सेवा, ९१ जनाले Physician तथा Geriatric Consultation र ६४ जनाले Gynecology Consultation सेवा प्राप्त गरेका थिए। शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दीर्घरोगको जोखिममा रहेका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरले समुदायस्तरमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुगेको विश्वास लिइएको छ। सहभागीहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भन्दै आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
बिम्ब नेपालका कानुनी सल्लाहकार ऋषि श्रेष्ठको भनाइ (Byte)
बिम्ब नेपालका कानुनी सल्लाहकार ऋषि श्रेष्ठले भन्नुभयो, “यस स्वास्थ्य शिविरलाई सफल बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।”