“समृद्ध नागार्जुनको आधार : सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार” भन्ने मूल नाराका साथ नागार्जुन नगरपालिकाले सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नागार्जुन नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक इचङ्गुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाबाट प्रवाह भइरहेका सेवा, विकास निर्माणका कार्य, आगामी योजना तथा जनचासोका विषयमा खुला छलफल गरिएको थियो। कार्यक्रममा करिब ३० जना सहभागीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार, कृषि, सामाजिक सुरक्षा, प्रशासनिक सेवा तथा अन्य स्थानीय समस्यासम्बन्धी प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले उठाएका जिज्ञासा तथा गुनासोको जवाफ प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखा प्रमुखहरू, वडा अध्यक्षहरू तथा कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले दिनुभएको थियो। कार्यक्रममा उठेका विषयहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नगरपालिकाले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै जनउत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि आफ्ना समस्या प्रत्यक्ष रूपमा सम्बन्धित निकायसमक्ष राख्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए।
कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले भन्नुभयो, “सार्वजनिक सुनुवाइमा नगरवासीबाट प्राप्त भएका प्रश्न, गुनासा र सुझावहरूलाई हामीले गम्भीरतापूर्वक टिपोट गरेका छौं। समाधान गर्न सकिने विषयलाई तत्काल सम्बोधन गर्नेछौं भने दीर्घकालीन योजनासँग सम्बन्धित विषयहरूलाई आगामी बजेट तथा कार्यक्रममार्फत समावेश गर्दै कार्यान्वयनमा लैजानेछौं। नागरिकको सुझाव नै नगरपालिकाको विकासको मार्गदर्शन हो। सुशासन, पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राखेर समृद्ध नागार्जुन निर्माणमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं।”*