६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नागार्जुन नगरपालिकाको आयोजनामा “सहकारी क्षेत्रमा सुदृढीकरणः नियमन, कर्जा असुली र सूचना समन्वय” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहकारी संस्थाको प्रभावकारी नियमन, कर्जा असुली प्रक्रियालाई थप व्यवस्थित बनाउने उपाय, सूचना आदानप्रदान तथा समन्वय प्रणालीलाई सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सहकारी क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै सहकारी संस्थाहरूलाई कानुनी व्यवस्था, वित्तीय अनुशासन र प्रभावकारी व्यवस्थापनका माध्यमबाट थप सुदृढ बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नागार्जुन नगरपालिकाले सहकारी क्षेत्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा सदस्यहरूको हित संरक्षणका लागि यस्ता अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।