नागार्जुन नगरपालिकाको आयोजनामा भू.पू. सैनिक एकता संघ नेपालद्वारा सञ्चालन गरिने भूपू सैनिक क्षमता अभिवृद्धि (विपद् व्यवस्थापन) सम्बन्धी तीनदिने तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
विपद्को पूर्वतयारी, उद्धार तथा व्यवस्थापनमा भूपू सैनिकहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा प्राकृतिक तथा मानवसिर्जित विपद्को सामना गर्ने उपाय, प्राथमिक उद्धार, आपत्कालीन समन्वय, जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विभिन्न पक्षबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखाका कर्मचारी, भू.पू. सैनिक एकता संघ नेपालका पदाधिकारी तथा भूपू सैनिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विपद्को समयमा भूपू सैनिकहरूको अनुभव, अनुशासन र दक्षता समुदायका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै यस्ता तालिमले उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
नागार्जुन नगरपालिकाले सुरक्षित, सक्षम र विपद् प्रतिरोधी समुदाय निर्माण गर्ने उद्देश्यका साथ विपद् व्यवस्थापनसम्बन्धी क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ