नागार्जुन नगरपालिका वडा नं. ७ लाई २०८३ साल वैशाख २७ गते औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा बालमैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित घोषणा कार्यक्रम भव्य एवं सभ्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमको सुरुआत बिहान ९ बजे वडा कार्यालयबाट निकालिएको सचेतनामूलक र्यालीबाट भएको थियो। विभिन्न टोल परिक्रमा गर्दै र्याली वडा नं. ७ स्थित कभर्ड हलमा पुगेपछि औपचारिक घोषणा कार्यक्रम सञ्चालन गरिएको थियो, जुन दिउँसो २ बजे सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका सभापति सन्तोष बुढाथोकी, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बौद्धिक व्यक्तित्व, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, महिला समूह, आमा समूह, स्थानीयवासी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको अधिकार सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता तथा संरक्षणलाई प्राथमिकतामा राखेर बालमैत्री वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा वडा नं. ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले वडा बालमैत्री घोषणा गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बालमैत्री वडा घोषणापछि पनि आवश्यक सबै मापदण्डलाई निरन्तर कायम राख्दै बालबालिकाको हित, संरक्षण र समग्र विकासका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।
बालमैत्री वडा घोषणासँगै वडा नं. ७ ले बालअधिकारमैत्री स्थानीय शासनलाई संस्थागत गर्दै बालबालिकाका लागि सुरक्षित, समावेशी र उत्तरदायी वातावरण निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको नगरपालिकाले जनाएको छ।