नागार्जुन नगरपालिकाले स्थानीय विकास, सुशासन र आगामी योजनालाई थप प्रभावकारी बनाउने उद्देश्यले सर्वदलीय/सर्वपक्षीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नगर कार्यपालिकाका पदाधिकारी, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा नगरपालिकाको समग्र विकास, सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमका विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।

सहभागीहरूले नगरको दिगो विकासका लागि राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै, नागरिकका अपेक्षाअनुसार प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, सुशासन तथा विकासका योजनालाई समयमै सम्पन्न गर्न सुझावसमेत दिएका थिए।
नगरपालिकाले यस्ता सर्वदलीय/सर्वपक्षीय छलफल तथा अन्तरक्रिया कार्यक्रमले साझा समझदारी कायम गर्न, विकासका प्राथमिकता निर्धारण गर्न तथा स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको समापनमा नगर नेतृत्वले प्राप्त सुझावहरूलाई आगामी नीति, योजना तथा कार्यक्रम तर्जुमामा समावेश गर्दै सबै पक्षको सहकार्यमा समृद्ध र व्यवस्थित नागार्जुन निर्माणका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थियो।