नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, समावेशी तथा जनमुखी बनाउने उद्देश्यले सुझाव तथा पृष्ठपोषण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम प्रतिनिधि सभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, १० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष थुमराज के.सी. र वडा नं. १० का वडा अध्यक्ष सुन्दर के.सी. ले आफ्नो वडासहित समग्र नगरपालिकामा देखिएका विकास निर्माण, पूर्वाधार, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायतका समस्या तथा आवश्यकताबारे धारणा राख्दै आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले आगामी केन्द्रीय बजेटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ९ सहित सम्पूर्ण नागार्जुन नगरपालिकालाई न्याय हुने गरी आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीले दोस्रो कार्यकालको अन्त्यतिर आइपुग्दा नागार्जुन नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा उल्लेखनीय परिवर्तन हासिल गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले आगामी नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन उपस्थित सरोकारवालाबाट प्राप्त सुझाव तथा पृष्ठपोषण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सभामुखसहित कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमको समापन गर्दै नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष महेश रिमालले सुझाव तथा पृष्ठपोषण कार्यक्रम अत्यन्त उपलब्धिमूलक रहेको उल्लेख गर्दै यस्ता सहभागितामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ समावेश गरी जनअपेक्षा अनुरूपको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।