नागार्जुन नगरपालिकाको आयोजनामा स्थानीय लघु उद्यमीहरूको उत्पादन क्षमता वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममार्फत नगरपालिकाले छनोट भएका लाभग्राही उद्यमीहरूलाई उनीहरूको व्यवसायसँग सम्बन्धित आवश्यक आधुनिक उपकरण तथा प्रविधि हस्तान्तरण गरेको हो। यसबाट स्थानीय उत्पादनको गुणस्तर अभिवृद्धि, उत्पादन लागतमा कमी तथा बजार प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास गरिएको छ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, सम्बन्धित शाखाका कर्मचारी तथा लाभग्राही उद्यमीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले स्थानीय स्रोत, सीप र प्रविधिको प्रभावकारी उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
नगरपालिकाले आगामी दिनमा पनि सीप विकास, उद्यम प्रवर्द्धन तथा आयआर्जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रविधि हस्तान्तरण कार्यक्रमले स्थानीय उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।