बृहत् फस्कु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १२औँ र १३औँ संयुक्त साधारणसभा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिताबीच भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै नवराज कार्कीलाई पुनः अध्यक्षमा चयन गरेको छ।
कार्यक्रममा सम्माननीय सभामुख डी.पी. अर्याल, प्रतिनिधिसभा सदस्य खुश्बु ओली, कुलभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य केशव पोख्रेल र उद्धव थापा, नागार्जुन नगरपालिका वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरी, वडा नं. २ का अध्यक्ष थुमराज केसी लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारणसभामा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। खानेपानी सेवा थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा सहभागीहरूले आफ्नो धारणा तथा सुझावसमेत राखेका थिए।
नवनिर्वाचित अध्यक्ष नवराज कार्कीले भन्नुभयो, “खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि जल पुनर्भरण (Water Recharge), मुहान संरक्षण तथा वर्षाको पानी संकलन र प्रशोधन (Rainwater Harvesting and Treatment) जस्ता कार्यक्रमलाई यस वर्ष विशेष प्राथमिकताका साथ अघि बढाउने योजना बनाएका छौँ। बढ्दो पानीको माग र जलस्रोत संरक्षणलाई ध्यानमा राख्दै उपभोक्तालाई गुणस्तरीय र दिगो खानेपानी सेवा उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हुनेछ।”
अध्यक्ष कार्की समितिको स्थापना भएको करिब १२ वर्षअघिदेखि नै नेतृत्व गर्दै आउनुभएको छ। स्थानीय उपभोक्ताहरूका अनुसार उहाँले खानेपानी व्यवस्थापन, मुहान संरक्षण तथा सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्याएकाले समुदायमा लोकप्रिय नेतृत्वका रूपमा स्थापित हुनुहुन्छ। यही कारण यसपटक पनि उहाँ अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो।
कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै फस्कु क्षेत्रको खानेपानी व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।