नागार्जुन नगरपालिकाले आफ्नो पाँचौं नगर सभा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ। नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतको सभापतित्व तथा माननीय प्रदेश सभा सदस्य केशव पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। त्यसैगरी कार्यक्रममा माननीय प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ ,नगर उप प्रमुख सुशिला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्षहरु,वडा सदस्यहरु,नगर कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो। नागार्जुन नगरपालिकाले नगर सभामा ‘समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार’ भन्ने मूलनाराका साथ आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम बुधबार स्युचाटारमा सार्वजनिक गरेको हो।कार्यक्रममा नगर उप-प्रमुख सुशिला अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन। नीति तथा कार्यक्रममा नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
नागार्जुन नगरपालिकाले एक अर्ब, ९६ करोड, ७५ लाख, २५ हजार रुपियाँको बजेट ल्याएकोे छ । नगरपालिकाको बुधवार बसेको पाँचौ नगरसभाले उक्त बजेट ल्याएको हो । नगरपालिकाले ल्याएको बजेटमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न प्राथमिकता दिएर नगरपालिकाले बजेट ल्याएको तथा कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई प्राथमिकतामा राख्ने नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।कोरोना पीडित किसानलाई कृषि औजार, मल तथा बीउविजनमा ५० प्रतिशत अनुदान दिने नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक वडा एक उत्पादनको अवधारणा अनुसार स्थानीय स्तरमा सबै भन्दा बढि संभाव्यता देखिएका स्रोत र साधनको पहिचान गरी त्यसमा औद्योगिक वस्तुको उत्पादनमा प्रबद्र्धन गर्ने, कृषि पकेट क्षेत्र विस्तार गर्ने नीति नगरपालिकाको छ ।
सार्वजनिक र पर्ति जग्गा संरक्षण गर्ने, नगरपालिकालाई खेलकुद सहरको रुपमा विकास गरी खेल पर्यटन प्रबद्र्धन गर्ने नीति नगरपालिकाले बनाएको छ । नगरपालिका प्रमुख बस्नेतले नगरपालिकाले यसअगाडि चार वर्षसम्म ल्याएका बजेट सफल रुपमा कार्यान्वयन गरेकाले यो बजेट कार्यान्वयन गरी नगरबासीको विकास निर्माण र सुशासनको प्रत्याभूतिलाई पूरा गर्ने बताउनुभयो । सो अवसरमा नगर उपप्रमुख सुशिला अधिकारीले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेट सभामा पेश गर्नुभएको थियो । नगरसभामा प्रदेश सभा सदस्य केशब पोखरेलले जनताको चाहना अनुरुपको बजेट आएकोले नगरपालिकाको बजेट सफल रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो साथै उहाले आफ्नो तर्फ तथा प्रदेश सरकारको तर्फबाट सहजीकरण गर्ने काम गर्न आफु सधै तयार रहेको पनि बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले जनप्रतिनिधीहरुले चुनाव जितेर आएपछि जनताको बिचमा गरिएका प्रतिबद्धता अहिले सम्म कति पुरा भए अब समिक्षा गर्ने बेला आएको बताउनुभयो । साथै उहाले चार बर्षको अन्तरमा नागार्जुन नगरपालिकाले भौतिक संरचनामा ठूलो फड्को मारेको पनि बताउनुभयो । उक्त कार्यक्रमको स्वागत मन्तव्य नागार्जुन नगरपालिका वडा न ९ का वडा अध्यक्ष राम कृष्ण भट्टराईले गरेका थिए भने कार्यक्रमको संचालन वडा न २ का अध्यक्ष तथा नगर प्रवक्ता थुमराज के.सीले गरेका थिए।