कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ। निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।
आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।
उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ ।