नागार्जुन नगरपालिका वडा नं. ७ को प्रशासनिक भवनको उद्घाटन भएको छ । वडा नं. ७ को इन्द्रायणी पाखामा नागार्जुन नगरपालिकाका जनप्रतिनिधिहरु मेयर, उप मेयर तथा वडा नं. ७ का अध्यक्षले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै वडा सदस्य विश्वकर लामाले आफूहरु पुरानो भवनबाट नयाँ भवनमा सर्न पाएकोमा धेरै खुशी भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रशासनिक अधिकृत सुरेन्द्र थापा मगरले नागार्जुन नगरपालिकाको अत्यन्त सक्रियताले गर्दा यो भवन चाडै निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले अझैँ एक दुईवटा वडा भवन र चाडै नै नागार्जुन नगरपालिकाको आफ्नौ भवन पनि चाडै उद्घाटन हुने बताउनुभयो । उहाँले स्थानिय चुनावको मिति पनि घोषणा भइसकेको हुनाले अब थोरै समय बाँकी रहेको र जति समय छ अब अधिकतम उपयोग गरी अघि बढ्न सबैलाई अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीले अब पाँच वर्ष कार्यकाल सम्पन्न हुनै लाग्दा जनताले जनप्रतिनिधिहरुको कार्य मूल्याङकन गर्ने दिन आएको बताउनुभयो । उँहाले नागार्जुन नगरपालिकाले हरेक वडालाई अवस्था हेरेर बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले संरचना बन्नु मात्र ठुलो कुरा होइन यसको सहि सदुपयोग गर्नु पनि चुनौती पूर्ण रहेको बताउनुभयो र यो हामीले तिरेको करबाट नै बनेको हुनाले यसको उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले वडा नं. ७ को आफ्नै भवन उद्घाटन गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो । उहाँले यो पाँच वर्ष काट्न ज्यादै ठुलो चुनौती र अवसर पनि प्राप्त भएको बताउनुभयो । उहाँल भन्नुभयो,सबैसँग समन्वय गरेर अघि बढ्दा हाम्रो कार्यकालको दुई वर्ष कोरोनाले गर्दा आर्थिक क्षेत्रमा ठुलो असर पारेको थियो तर पनि आफैलाई कोरोनाको संक्रमण भएको र यो कठिन परिस्थितिमा पनि जनताको सेवामा दिन रात हाजिर भएर जनताको सेवा गरेकोले अब कार्यकाल सकिन लाग्दा आफूहरुले के कति काम गरेको जनताले मुल्याङन गर्ने दिन आएको बताउनुभयो । उहाँले हामीले चुनाव जितेर आउनु अघि र अहिलेको अवस्था कस्तो छ आफै हेर्नु हुन जनतालाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा वडा नं. ७ का अध्यक्ष रमेश प्रसाद गौतमले आफूहरुले पाँच वर्ष पार्टीगत स्वार्थ भन्दा माथि उठी जनताको सेवामा लागेको र आज आफ्नै भवन उद्घाटन गर्न पाउँदा ज्यादै खुशी लागेको र उक्त कार्यक्रममा आई कार्यक्रम सफल बनाइदिनुभएकोमा सम्पूर्ण जनप्रतिनिधि तथा वडाबासीहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रमको उद्घोषण वडा नं. ७ की सचिव सुमा केसीले गर्नुभएको थियो ।